उदयपुर डायरी

उदयपुर डायरी

                                                                                                                                       -विकल्प बम्ज

उदयपुर डायरी


उदयपुर हालको कटारी नगरपालिका -८,डुम्रीबोटका सुमन बोम्जन मेरा अनन्य घनिष्ठ मित्र हुनुहुन्छ।हाम्रो भेट मित्र रत्न स्याङ्बो(इलाम)मार्फत झम्सिखेल स्थित कुन्डिलिनी आयुर्वेद उपचार केन्द्रमा बोम्जन लाखाङ समाजको राष्ट्रिय भेलाको सन्दर्भमा २०७१सालमा भएको थियो ।त्यस भेटमा सुमन बोम्जन र कृष्ण बोम्जन (नाताले सुमन काका र कृष्ण भतिज)संग हाम्रो भलाकुसारी भएको थियो।त्यस यता हाम्रो भेट अनौपचारिक औपचारिक थुप्रै भए।मलाई उदयपुर जिल्लाको बोम्जनलाई बोम्जन लाखाङमा जोड्न खुबै इच्छा जागेको थियो।तर त्यो इच्छा लामो समयको प्रतीक्षा पछि २०७५वैशाख १९ गतेको दिन पूरा भयो।मित्र सुमन जि स्वयम् संचालित काभ्रेको धुलिखेलमा रहेको आयुर्वेद स्पा थेरापीमा दुई दिनको बसाइ पछि हाम्रो यात्रा १९ गते प्रारम्भ भयो।राती देखि नै पानी परिरहेको धुलिखेलमा विहानसम्म अझै पानी पर्दै थियो।हामिले जसरी पनि उदयपुर पुग्ने अठोट लिइसकेका थियौं ।पटक-पटक पानी रोकिएला जस्तो हुन्थ्यो तर जब हामी ढोकामा निस्किन्थ्यौं पानी पर्न सुरु गरिहाल्थ्यो।हामिले अब पानीको वीच बाट जसरी पनि निस्कने निश्चय गर्यौ ।रुझ्दै भिज्दै धुलिखेल नगरपालिका नजिकैको चोकबाट डबल वर्षादी खरिद गर्यौ।हाम्रो लागि २२०cc को प्लसर मोटरसाइकल वाहनको रुपमा थियो।झम झम पानी परिरहेकै थियो ।करिब ९बजे हामिले धुलिखेल छाड्यौ।रोशीको तिरै तिरको वि.पि.हाइवे पछ्याउँदै ।भकुन्डेबेंशी देखि भने पानी पुर्ण रुपमा रोकिसकेको थियो।हामी विना अबरोध हुइकियौ।करिब १२बजे हामी खुर्कोट पुग्यौ।पुर्व निर्धारित योजना अनुसार हाम्रो दिउँसोको खाना रामेछापको बोम्जन किपट बेतिनीमा खाना खाने भन्ने थियो।त्यही योजना अनुरुप बेतिनीमा रहेको मेरो घरमा आएर खाना खायौं ।केही समयको आरम पछि हामी फेरि खुर्कोट हुदै घुर्मी उदयपुर तर्फ लाग्यौ।

उदयपुर डायरी



मध्यपहाडी लोकमार्ग वि.पि. हाइवेको तुलनामा फराकिलो हुइकिन मिल्ने तर सडक संरचनाको गुणस्तर भने राम्रो रहेनछ।प्राय खुला रहने मार्गमा हामी एकतमासले हुइकियौ।ग्वाल्टार नवलपुर हुँदै घुर्मी पुग्दा ४वजेको थियो।सुनकोशीको किनारै किनार यात्राले ओखलढुङ्गा र सिन्धुलीको सिमा पार गर्दै उदयपुर प्रवेश भयो।अब हामिले घुर्मी देखि दक्षिणी मोड लियौं।माबारलेक को यात्रा सुरु भयो।कालो पत्रे गरिएको तर राज्यले ध्यान नदिदा कालोपत्रे प्राय क्षतविक्षत अवस्थामा रहेछ।हामिले उत्तरपट्टि दिशामा ओखलढुङ्गा र खोटाङ हलेशी छोड्दै कटारीको यात्रामा अघि बढ्यौ।यो लोकमार्गलाई सिद्धिचरण लोकमार्ग भनिदो रहेछ।तराइको जिल्ला सिराहा हुँदै उदयपुर ,ओखलढुंगा र हिमाली जिल्ला सोलुखुम्बु जोडिएको यस लोकमार्गको हालत ठिट लाग्दो रहेछ।विशाल पहाडी शृङ्खला मावर गाङ पुग्नु करिव डेढ घन्टाको समय लागे पछि हामि बेतिनी भन्ज्याङ पुग्यौ।मलाई यस ठाउँको प्राकृतिक मनमोहक दृश्यले भित्रै देखि लोभ्याइरहेको थियो।झनै बेतिनी नाम गरेको भन्ज्याङसंग रामेछापको बेतिनीको नाता केलाउनु पो पुगेछु।हामिले बेतिनीलाई पछाडी छोडेर मावरको काख दक्षिणी भाग पहिलाको सिरिसे गाविस हालको कटारी न.पा.-८,डुम्रे ओरालो लाग्यौ।बेतिनी देखिको १५ मिनेटमा हामी निर्धारित गन्तव्य डुम्रे भञ्ज्याङमा करिब ६ बजे पुग्यौ।हामी आउने पुर्व जानकारी पाउनुभएर सुमनजी को आदरणीय आमा सडक छेउ हामीलाई कुरिरहनु भएको थियो।हामिले आमालाई ल्हास्सो फ्याफुल्ला गर्दै लाग्यौं सुमन जिको घर तर्फ………………………………

Comments